सुखड । कैलालीको घोडाघोडीमा बिहीबार ‘घोडाघोडी पन्छी अभय आरान्य क्षेत्रका विद्यालय र ईको क्लव चरा संरक्षण कार्यक्रम अन्तर्गत एक दिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । नगरपालिकाको वडा नं १ मा रहेकाे घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि घोडाघोडी नगरपालिका उपप्रमुख गुलिया कुमारी चौधरी रहेकी थिइन भने विशिष्ट अतिथिमा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख ‘डिएफओ’ राम बिचारी ठाकुर, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका राम किशोर यादव रहेका थिए ।
कार्यक्रममा घोडाघोडी जनजागरण मञ्चका अध्यक्ष, विभिन्न सामुदायिक वनका पदाधिकारी, प्राध्यापक, घोडाघोडी नगरपालिकाका विभिन्न १६ वटा सामुदायिक विद्यालयका इको क्लबका फोकल शिक्षक, इको क्लबमा आबद्ध विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
पछिल्लो समय मासिँदै गएको चुरे भावर क्षेत्र, परिवर्तन हुँदै गएको जलवायु, वन्य जन्तु चोरी सिकारी र पैदावारको कमी कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

मासिँदै गएको वन जङ्गल कसरी बनाउने र यस्तै स्थिति रह्यो भने आगामी दिनमा आउन सक्ने चुनौतीका बारेमा लोकेन्द्र भट्ट, विजय राज श्रेष्ठ र हिरुलाल डगौराले प्रस्तुतिकरण समेत दिएका थिए । पछिल्लो समय प्रत्येक वर्ष बढ्दै गइरहेको तापक्रम, वनजङ्गल पैदावार, र इको सिस्टमलाई कसरी सन्तुलन मिलाउन सकिन्छ भन्ने विषयमा बालबालिका, प्राध्यापक, सामुदायिक वनका पदाधिकारी राखेर कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै ‘डिएफओ’ ठाकुरले पछिल्लो समय वन्यजन्तुको चोरी शिकारी तीब्र रुपमा भइरहेको र यसको नियन्त्रणका लागि सिकारी नियन्त्रण परिचालक, वन हेराला, सामुदायिक वन लगायतले आआफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेले पनि त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको बताए । डिभिजन वन कार्यालय पहलमानपुरको आर्थिक सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पसले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडीले कार्यक्रम सञ्चालन गरेका थिए भने सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीले कार्यक्रमको सहजीकरण गरेका थिए ।












