डोटी । चक्र बिठारी डोटीको बडीकेदार गाउँपालिका वडा नं २ छेडामा अवस्थित कालिका आधारभूत विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षक हुन् । उमेर चालीस पुगेकाे छैन् । चालीस कटेसी रमाउला भन्दै बिदेशिने नेपालीको लर्काे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दैनिक देख्न पाइन्छ । तर बिठारी नेपालमै कृषिमा रमाइरहेका छन् ।
नेपाल एक कृषि प्रधान मुलुक हो । कृषि जनगणना २०७८ का अनुसार ६०.४ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ । पढाई सकेर देशमा रोजगारी नपाएको भन्दै विदेशिने युवाको सङ्ख्या दिनानु दिन बढ्दै गइरहेको छ । अझ कतिपयको सोचाइ पढेर पनि के कृषि गर्नु ? भन्ने छ ।
बिठारी दिनभरि विद्यालयमा अध्यापन गराउँछन्, साँझ बिहान आफ्नै बारीमा मिहिनेत गर्छन् । बारीमा झण्डै ७ सय सुन्तला रोपेका उनी गत वर्ष गाउँपालिकामै सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान समेत बने। उनले गत वर्ष ८५ रुपैयाँ केजीको आधारमा ८ लाखको सुन्तला बिक्री गरेका थिए । ‘स्वदेशमै काम गर्दा आम्दानीको स्रोत पनि बढ्ने, साथै परिवारसँग बस्न पाइने । त्यति मात्रै नभई राज्यलाई समेत टेवा पुग्याे’ भन्दै बिठारी, ‘स्वदेशमै जुनसुकै काम गर्दा खुसी मिल्छ, आफ्नै बारीमा उत्पादन गरेर ताजा खान मिल्यो, जसले गर्दा आफू पनि स्वस्थ भइयो । उता पैसा पनि कमाई भयो आफ्नो बारी बाँझो रहने अवस्था पनि रहन्न ।’

उसो त पछिल्लो समय बिठारी जस्तै बडीकेदारका अधिकांश युवा सुन्तला खेतीमा जुटेका छन् । सबै जसाेले कम्तिमा २,३ सय बोट सुन्तला रोपेका छन् । विभिन्न चुनौतीका बावजुत पनि बिठारी जस्तै बडीकेदारका युवा व्यवसायिक कृषि पेशामा आबद्ध भएका छन् । विगतका केही वर्ष यता सुन्तला खेतीमा निरन्तर रूपमा लागि रहेका बिठारी स्थानीय निकाय देखि प्रदेश सरकारले किसानका लागि केही नगरेको गुनासो गर्छन । ‘किसानका समस्यालाई समाधान गर्न तर्फ स्थानीय तह देखि केन्द्रीय सरकारले पनि अग्रसर हुनुपर्ने हो’, उनी भन्छन्, ‘तर, विडम्बना कृषकलाई कसैले पनि वास्ता गर्दैनन् । समस्या समाधानको कुरा त धेरै परको हो । झोलामा कृषि गर्नेले अनुदान पाउँछन् वास्तविक किसानले केही पाउँदैनन् ।’
बडीकेदार गाउँपालिकाको वडा नं. ४ को टिमुट्ट र खेताली तथा वडा नं. २ को छेडामा मात्रै वार्षिक करिब ६० देखि ७० लाखको सुन्तला बिक्री हुने गर्दछ । त्यस क्षेत्रलाई मात्रै सरकारले सुन्तला पकेट क्षेत्र घोषणा गरि कृषकका केही समस्या समाधान गरि बजारीकरण गरिदिए मात्रै स्थानीय तहलाई राजस्व सङ्कलनमा ठूलो राहत मिल्ने छ । तर, स्थानीय तहको त्यता ध्यान जान सकेको छैन् ।

त्यस क्षेत्रमा सबैभन्दा कम सुन्तला बिक्री गर्ने किसानले डेढ लाखको बिक्री गर्ने गर्दछन् । सरकारले आधा मात्रै लगानी लगाएर सिँचाइ र जालीको व्यवस्था गरिदिए मात्रै व्यावसायिक तरिकाले सुन्तला खेती गर्न सहज हुने बिठारी बताउँछन् । ‘हामीलाई अत्यावश्यक भनेको थोपा सिँचाइ हो’, बिठारी भन्छन्, ‘आफैले सुन्तला बिक्री गरेर पाइप किनेर थोपा सिँचाइको व्यवस्था मिलाउन गाह्रो छ । पालिका र प्रदेश तथा केन्द्र सरकारले केही मात्रामा अनुदान दिए हल्का आफै थपेर पनि व्यवस्था गर्न सकिन्थ्यो । तर त्यस्तो केही छैन् सरकारले हेरिदिएको भए त सुन्तलालाई असिनाबाट बचाउन माथि जालीको व्यवस्था भैदिएको भए सुनमा सुगन्ध हुने थियो ।’
सुन्तलालाई भण्डारण गरि फागुनदेखि बिक्री गर्न पाए किसानले दोब्बर आम्दानी गर्न सक्ने उनको आँकलन छ । सरकारले भण्डारणका लागि सित भण्डारको योजना अगाडि सारी यहाँ कुनै ठाउँमा निर्माण गरिदिए किसानका हितको लागि त्यो भन्दा अर्को केही नरहेको उनी बताउँछन् । उक्त स्थानको सुन्तला पुससम्म बिक्री भइसक्छ । त्यस समयमा सबै ठाउँमा सुन्तला पाइने हुनाले किसानले राम्रो मूल्य पाउँदैनन् । त्यही भएर उनीहरु सित भण्डारको आवश्यकता महसुस गरि रहेका छन् । पछिल्लो समय सुन्तला खेती बडीकेदारका अधिकांश स्थानमा हुने गरेको छ । तर बजारीकरणको अभाव किसान वर्षेनी झेल्दै आई रहेका छन् । उनीहरूको भनाई छ, ‘पालिकाले बजारीकरणमा सहज वातावरण सिर्जना गरेर किसानका सुन्तला किन्ने व्यापारीबाट थोर बहुत कर लेओस् ।’ तर, स्थानीय तहले त्यस तर्फ कुनै चासो देखाएको देखिदैन ।
बिठारी सुन्तला खेतीका साथै बाख्रा पालनमा पनि लागेका छन् । करिब ४० ओटा जति त उनले बाख्रा नै पालेका छन् । बाख्रा पालनले सुन्तलाका लागि मलको अभाव हुन नदिने उता आर्थिक आम्दानी पनि भित्रिने हुनाले दोहोरो लाभ मिली रहेको उनको भनाई छ । वार्षिक रुपमा दुई लाख भन्दा बढी त आफूले खसी बोका नै बिक्री गरेर कमाउने गरेको बिठारी बताउँछन् ।













