कैलाली । अमेरिकामा जारी नवौं संस्करणको आईसीसी टी २० विश्वकप क्रिकेट २०२४ मा टेस्ट राष्ट्रमाथि एसोसिएट राष्ट्रहरू केही आक्रामक देखिएका छन् । बिहिबार अमेरिकाले उपाधि दाबेदार मानिएको पाकिस्तान जस्तो बलियो टोलीलाई चक्मा दिँदै जित दर्ता गर्दा आज पुनः क्यानाडाले आयरल्याण्डलाई पाखा लगाएको छ।
विगतका विश्वकपमा टेस्ट राष्ट्रहरु एसोसिएट राष्ट्रहरुमाथि हावी हुँदै आएका थिए तर यस विश्वकपमा त्यो भन्दा केही फरक भइरहेको छ । अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पाखा लगाउँदा आज क्यानडाले बलियो टोली आयरल्याण्डलाई सोझै पाखा लगाउँदै टी २० विश्वकप २०२४ को सहभागितामा अर्को एक नयाँ आयाम थप गरेको छ । न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्डमाथि १२ रनको जित हात पार्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनकाे मध्यम आँकडा रहर गर्यो । उसका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४९ रन बनाए । यस्तै श्रेयस मोभ्भाले ३७ रनकाे योगदान गर्दा पर्गत सिंहले १८ रन जोडे ।
बलिङ तर्फ आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २ विकेट तथा जोशुवा लिटल र ग्यारेथ डिलेनीले १/१ विकेट हात पारे ।
जवाफमा आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २५ रन मात्र जोड्न सक्यो । उसका लागि मार्क अडेयरको ३४ रन नै सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे ।
क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ तथा जुनेद सिद्दिकी र साद विन जफरले समान १ विकेट लिए ।
समूह ‘ए’ मा रहेको क्यानाडाको २ खेलमा यो पहिलो जित हो । आयरल्याण्डकाे भने यो २ खेलमा दोस्रो हार हो । यस समूहमा अमेरिकाको २ खेलमा ४ अङ्क रहेको छ । भारतको १ खेलमा २ अङ्क छ भने पाकिस्तान १ खेलमा अङ्कविहिन छ ।













