टी २० विश्वकप : नेपालको प्रदर्शनका आधारमा विद्यार्थीलाई छात्रवृत्ति दिने घोडाघोडी क्याम्पसको घोषणा

कैलाली । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा नवौँ संस्करणको आईसीसी टी २० विश्वकप क्रिकेट सञ्चालन भइरहेको छ । जसमा नेपालले पनि १० वर्ष पछि दोस्रो पटक सहभागिता जनाउने अवसर पाएको छ । विभिन्न ठाउँबाट नेपाली टोलीको हौसलाको लागि हरेक किसिमका पुरस्कारको घोषणा पनि भइरहेका छन् ।

विश्वकपमा नेपाली टोलीको प्रदर्शनका आधारमा कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले पनि खेलाडीको प्रदर्शनका आधारमा छात्रवृत्ति घोषणा गरेको छ । क्याम्पसले आज एक सूचना जारी गर्दै स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति योजनाको घोषणा गरेको हो ।

नेपाली टिमले जित्ने प्रति खेलमा १/१ जना छात्र/छात्रालाई पूर्ण छात्रवृति प्रदान गरिने, कुनै पनि नेपाली बलरले एकै खेलमा ५ विकेट वा ह्याट्रिक गरे उक्त खेलाडीको नाममा छात्रवृत्ति नामाकरण गरि १ जनालाई पूर्ण छात्रवृति प्रदान गर्ने तथा कुनै पनि खेलाडीले अर्धशतक प्रहार गरे उक्त खेलाडीको नाममा छात्रवृत्ति नामाकरण गर्दै एक जनालाई छात्रवृति प्रदान गरिने घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीले जनाएका छन् ।

टी २० विश्वकप क्रिकेट अन्तर्गत समूह डी मा रहेको नेपालले आज नेदरल्याण्डको सामना गर्दैछ । विश्वकपमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा रहेका यी दुई टोली एसोसिएट राष्ट्रका निकै बलिया टोली हुन् । दुवै टोली आज जितको लक्ष्य सहित मैदान प्रवेश गर्दै छन् । 

खेल नेपाली समय अनुसार राति सवा नौ बजे अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुने छ ।

Share