कैलाली । अमेरिकामा जारी आईसीसी टी २० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ । समूह डी मा रहेको नेपालले नेदरल्याण्ड्सको सामना गर्ने समय तालिका रहेको छ ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रङ्गशालामा खेल राति सवा नौ बजे हुँदैछ । आजको खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ दुवै टोली मैदान प्रवेश गर्ने छन् । तर, जित हात पार्न भने दुवै टोलीलाई उत्तिकै चुनौति रहेको छ । दुवै टोली एसोसिएट राष्ट्रका बलिया टोली हुन् । आफूहरू नतिजा हात पार्ने लक्ष्यका साथ मैदान उत्रिने नेपालका कप्तान रोहित कुमार पौडेलले बताई सकेका छन् । उता मुख्य प्रशिक्षक मोन्टी देसाइ पनि टोलीले विश्वकपमा सुखद सुरुवात गर्नेमा विश्वस्त छन् ।
तर, २०२३ को एकदिवसीय विश्वकप खेल्दै इङ्ल्याण्ड जस्तो विश्व विजेता टोलीलाई समेत हराएर कीर्तिमान कायम गरेको नेदरल्याण्ड्सले पनि त्यति सजिलै हार मान्ने अवस्था छैन् । उ पनि नेपाललाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्ने दाउमा छ । उसँग नेपाल भन्दा थोर बहुत अनुभव पनि रहेको छ । आज उ त्यसको पनि भरपुर मौका उठाउने छ ।
१० वर्षपछि विश्वकप खेल्न लागेको नेपालसँग उसको भन्दा अनुभव भने केही कम छ । २०१४ मा विश्वकप खेल्ने टोलीमा रहेका एक्ला खेलाडी सोमपाल कामी मात्रै हाल टोलीमा रहेका छन् । आज उनले टोलीलाई सम्हाल्नु पर्ने देखिन्छ । उनले आफ्नो अनुभवको पनि भरपुर फाइदा उठाउँदै टोलीलाई अगाडि बढाउँदा जित तर्फ अग्रसर हुन सहज हुने छ । विश्वका चर्चित लिगहरू खेल्दै अनुभव सङ्गालेका लेग स्पिनर सन्दीप लामिछाने भने भिसा नपाएर अमेरिका जान पाएका छैनन् । जसको अभाव नेपाली टोलीलाई खड्किने नै छ । उनको अभाव खड्किन नदिन ललित राजवंशीले स्पिनरको भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ ।
सम्भवतः आज पनि नेपालले नियमित ओपनर जोडीलाई नै निरन्तरता दिने छ । विश्वकपमा आएर ओपनर परिवर्तन गर्न अशोभनीय हुने यस अघि नै कप्तान पौडेलले बताई सकेका छन् । त्यही भएर आज पनि कुशल भुर्तेल र आसिफ शेख नै ओपनरको रुपमा आउने छन् । जसले सुरुवातमा नै केही सम्हालिएर आक्रामक सुरुवात दिलाउनु पर्ने छ । त्यसपछि सम्भवतः कुशल मल्ल तेस्रो नम्बरमा ब्याटिङ गर्न आउने छन् । जो ठूला सर्ट खेल्न टोलीका लागि माहिर मानिन्छन् । चौथो नम्बरमा कप्तान पौडेल आफै मैदान आउने छन् । जसले टोलीको पारीलाई सम्हाल्नु पर्ने छ । पाँचौ स्थानमा आउने सन्दीप जोराले टोलीमा सम्हालिँदै ब्याटिङ गर्दा टोलीले चुनौतिपूर्ण लक्ष्य तर्फ अग्रसर हुनेछ । त्यसपछि सम्भवत कप्तान र प्रशिक्षकले अवस्था हेरेर दीपेन्द्र सिंह ऐरीलाई पठाउने छन् । टोलीले उनीबाट ठूलो आशा राख्दै आएको छ । आज पनि राख्ने छ । उनी आक्रामक रुपमा प्रस्तुत हुने गर्छन् । त्यस कारण उनलाई विशेष गरेर फिनिसरको रुपमा पठाउने गर्दछन् । त्यस्तै त्यसपछि आउने गुलसन झाले आफ्नो जिम्मेवारी बहन गर्दा पछि सोमपाल कामी र करण केसीले पनि टोलीको ब्याटिङमा केही इँटा थपी दिने छन् ।
बलिङमा पनि सुरुवाती चरणमा सोमपाल कामी र करण केसीले दबाब सिर्जना गर्नु पर्ने छ । त्यसपछि अवस्था हेरेर स्पिनर ललितले पनि सम्भवतः पावर प्ले मा बलिङ गर्दै टोलीलाई राहत दिनु पर्ने छ । त्यस्तै दीपेन्द्र, कुशल मल्ल, कुशल भुर्तेलले स्पिनरको रुपमा भूमिका निर्वाह गर्दा गुलसनले मिडियम फास्ट बलरको भूमिका निर्वाह गर्दा डेथ ओभरमा अविनाश बोहराले भरपुर आफ्नो विवेक प्रयोग गरि बलिङ गर्नु पर्ने छ अन्यथा टोलीको हित हुने छैन् ।
दुवै टोली बिचको कस्तो छ विगत ?
विगतको नतिजा हेर्न हो भने नेदरल्याण्ड्स नै बलियो देखिन्छ । पछिल्लो समय पनि उसको प्रदर्शन निकै राम्रो रहेको छ । हाल सम्म यी दुई टोलीले १२ टी२० खेल खेलेका छन् । जसमा नेदरल्याण्ड्सले छ खेलमा जित हात पार्दा नेपालले पाँच खेलमा जित दर्ता गरेको छ । एक खेल भने नतिजा विहीन बनेको छ ।
सन् २०१४ मा पारस खड्काको कप्तानीमा टी२० विश्वकप खेलेको नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । तत्कालीन कप्तान खड्का हाल नेपाल क्रिकेट सङ्घका केन्द्रीय सचिव रहेका छन् । उक्त विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो भने बङ्गलादेशसँग पराजित हुँदै बाहिरिएको थियो ।













