कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले अत्यधिक गर्मी बढेका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत समस्या हुने भएको भन्दै दिउँसो सञ्चालन हुँदै आएका विद्यालयहरू बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज बुधबार घोडाघोडी नगरपालिकामा बसेको बैठकले भोलि १७ गतेदेखि बिहान सञ्चालन गर्ने निर्णय गरेको हो ।
घोडाघोडी नगरपालिकाले आज एक सूचना जारी गर्दै १७ गते देखि बिहान ६ बजेदेखि ११ बजे सम्म विद्यालय सञ्चालन गर्ने निर्णय भएकाे जनाएकाे छ । यता संस्थागत विद्यालय घोडाघोडी नगर समितिले भने ३ दिन बिदा दिने निर्णय गरेको छ ।
संस्थागत विद्यालय घोडाघोडी नगर समितिले आजै एक सूचना जारी गर्दै भोलि १७ गते बिहिवारदेखि २० गते सम्मका लागि बिदा दिने निर्णय गरेको छ । संस्थागत विद्यालय नगर समितिले नगरपालिकामा सञ्चालित सम्पूर्ण संस्थागत विद्यालयहरू अत्याधिक गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीहरूको स्वास्थ्यमा झाडा पखाला, वान्ता र ज्वरो जस्ता गम्भिर समस्या देखिएका कारण विद्यालय बन्द गरिएको विज्ञप्ति जारी गरेकाे छ ।














