कैलाली । गृह मन्त्री रवि लामिछानेले अब देखि महिला ट्राफिक प्रहरीले महिनावारी भएको बेला चार दिन सडकमा बसेर ड्युटी गर्नु नपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारका गृह मन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले उक्त कुरा बताएका हुन् । महिनावारी भएको बेला महिला ट्राफिकलाई सडकमा बसेर ड्युटी गर्न असहज परिस्थिति आउने भएपछि उनले यस्तो बताएका हुन् ।
गणतन्त्र दिवसको अवसरमा गृह मन्त्री लामिछानेले शुभकामना सहित सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उक्त कुरा बताएका छन् । उनले महिनावारी भएको बेला महिला ट्राफिकले ड्युटी गर्न नपर्ने बरु मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रूपमा महिला प्रहरीको साटो सडकमा सघाउने जनाएका छन् ।
आज नेपालमा गणतन्त्र दिवस मनाई रहेको भएपनि आज खासमा ‘विश्व महिनावारी स्वच्छता’ दिवस पनि हो । सोही दिनको अवसर पारेर गृहमन्त्रीले उक्त कुरा उल्लेख गरेका हुन् ।
जर्मनी आधारित ‘वास युनाइटेड’ नामक गैरसरकारी संस्थाले सन् २०१४ बाट हरेक वर्षको मे २८ तारिखका दिनमा ‘विश्व महिनावारी स्वच्छता’ दिवस मनाउने पहल थालेको थियो।
त्यसयता हरेक वर्षको मे २८ तारिखका दिन ‘विश्व महिनावारी स्वच्छता’ दिवस मनाउन लागिएको हो ।














