कैलाली । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले विश्वविद्यालयहरूले आफ्नो सिस्टम नसुधारी विद्यार्थी सङ्ख्या घट्यो भन्ने छुट नहुने बताएका छन् ।
सोमबार कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले आयोजना गरेको तीन दिने ‘सोसियल सर्भिस इस्युज र रिसर्च मेथोडोलोजी ट्रेनिङ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रा. डा. अधिकारीले सो कुरा बताएका हुन् । उनले विश्वविद्यालयको चरम लापरवाहीले विद्यार्थीहरू विदेशिने गरेकाे भन्दै चार सेमेष्टरमा सकिने एमबिएसकाे परीक्षा आठ सेमेष्टरमा गएर सकिन्छ । अनि विद्यार्थी सङ्ख्या घटे भनेर हुन्छ ? चार वर्षको परीक्षाकाे नतिजा चार वर्षमै सक्छौँ चार वर्ष एक दिनमा हैन भनेर विद्यार्थी र अभिभावकलाई विश्वास दिलाउन सक्नु पर्ने बताएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसकाे सभाहलमा आयोजित कार्यक्रममा डा. अधिकारीले ‘अब विद्यार्थी घटे भनेर गुनासो गर्नु भन्दा अभिभावक र विद्यार्थीलाई कसरी विश्वास दिलाउन सकिन्छ भन्ने तर्फ केन्द्रित भएर विश्वविद्यालयहरूले सिस्टम सुधार्न तर्फ अग्रसर हुनुपर्ने’ बताए ।
पछिल्लो समय विद्यार्थीहरूलाई बाहिरी देशको विश्वविद्यालयमा कुन विषय पढाई हुन्छ भन्ने थाहा हुने गरेको तर यहाँका विश्वविद्यालयमा कुन विषय पढाई हुन्छ भन्ने थाहा नहुने अवस्था आएको भन्दै अधिकारीले ‘विश्वविद्यालयमा पढाई हुने विषयमा विद्यार्थीलाई जानकारी गराइ गुणस्तरीय शिक्षा प्रदान गर्न सके विद्यार्थी राेक्न सकिने’ बताएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभागकाे आयोजनामा तीन दिने तालिममा सहभागि कैलालीका टिकापुर बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, चाैमाला बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, रघुनाथ बहुमुखी क्याम्पस, माेहन्याल बुमुखी क्याम्पस र कञ्चनपुरका कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, भानु बहुमुखी क्याम्पस र डाेटीकाे केदार ज्याेतीपुञ्ज बहुमुखी क्याम्पसका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे । यसका साथै घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि र घाेडाघाेडी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी, सञ्चालक समिति सदस्य र स्वतन्त्र विद्यार्थी युनियनकाे समेत सहभागिता रहेकाे थयाे ।













