जिल्ला लिग फुटबल : भजनीलाई पेनाल्टी सुट आउटमा पाखा लगाउँदै क्वालिफायरको उपाधि सैपाललाई 

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१, स्थित सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको क्वालिफायरको उपाधि सैपाल युवा क्लब गोदावरीले हात पारेको छ । पेनाल्टी शुटआउटमा भजनी युवा क्लब भजनीलाई हराएर उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेलमा दुई टोलीले १-१ गोल गरेपछि उपाधिको छिनोफानो पेनाल्टी शुटआउटबाट भएको थियो । पेनाल्टी शुटआउटमा सैपाल युवा क्लब गोदावरीले ५ गोल प्रहार गर्दा भजनी युवा क्लब भजनीले ३ गोल मात्रै प्रहार गर्न सफल भयो ।

क्वालिफायरको उपाधि जितेसँगै सैपाल युवा क्लब गोदावरी ‘वि’ डिभिजनमा उक्लेको छ । न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएर भजनी युवा क्लब भजनी फाइनमा प्रवेश गरेको हो। भने टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीलाई हराएर सैपाल युवा क्लब गोदावरी फाइनमा पुगेको थियो । क्वालिफायरको उपाधिको लागि आज बिहान भजनी युवा क्लब भजनी र सैपाल युवा क्लब गोदावरी बिच खेल भएको थियो । उक्त खेलको ‘म्यान अफ द म्याच’ भने सैपाल युवा क्लब गोदावरी गोल रक्षक दिनेश नेपाली घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायरका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Share