इलाम । इलाम क्षेत्र नंबर २ मा वैशाख १५ गते सम्पन्न भएको उपनिर्वाचनकाे अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जहाँ नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरे ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गरे । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।
२०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा प्रतिनिधि सभा सदस्यको सिट रिक्त थियो ।
अन्तिम परिणाम अनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । पहिचानवादीका नेता डकेन्द्र सिंह लिम्बुले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।













