नेपालको राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी 

काठमाडौं । मंगलबार दुई दिने भ्रमणका लागि नेपाल आएका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी आज स्वदेश फिर्ता भएका छन् । उनको बिदाई का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल पुगेका थिए ।

थानीकाे विदाईका लागि राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहितका व्यक्ति पनि विमानस्थल पुगेका थिए ।

थानीले नेपाल रहँदा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन ।

कतारी राजा थानीको भ्रमणका क्रममा नेपाल-कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता तथा समझदारी भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहालसँग आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ ।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् ।

Share