जैसवालको शतकमा मुम्बईमाथि राजस्थानको सानदार जित 

तस्बिर : एजेन्सी

कैलाली । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सम्पन्न खेलमा यशस्वी जैसवालको शानदार शतकीय पारीसँगै राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटकाे सानदार जित हासिल गरेको छ ।

१ सय ८० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको राजस्थानले १८.४ ओभरमा मात्रै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । सानदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

बटलर ३५ रन बनाएर आउट भएपछि यशस्वी र सन्जु सामसनले टोलीलाई जित दिलाएका थिए । ६० बल खेलेका जैसवालले ९ चौका र ७ छक्कासहित १ सय ४ रनकाे अविजित पारी खेले । २८ बलकाे सामना गारेका सन्जुले २ छक्का र २ चौकासहित अविजित ३८ रन बनाए ।

मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा तिलक वर्माको अर्धशतमा ९ विकेट गुमाएर १ सय ७९ रनकाे आँकडा तयार गर्यो । २० रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले ब्याटिङ सम्हालेको थियो । ओपनर रोहित शर्मा ६ रन र इशान किसन खाता नखोल्दै पेभिलियन फर्किए ।

तेस्रो नम्बरमा सूर्यकुमारले ८ बलमा १० रन जोडर आउट हुँदा मुम्बई दबाबमा परेको थियो । त्यसपछि तिलक, मोहम्मद नवि, नेहाल वाडेरले इनिङ्स सम्हालेका थिए । तिलकले ४५ बलमा ५ चौका र ३ छक्का साथ सर्वाधिक ६५ रन जोडे । नेहाल एक रनले अर्धशतक बनाउनबाट चुके । उनले २४ बलमा ३ चौका र ४ चौका प्रहार गर्दै ४९ रन बनाए । नविले २३, हार्दिक पान्ड्याले १० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले २, अभेश खान र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए ।

८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अङ्क छ । समान १० अङ्कसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ । सातौं स्थानको मुम्बईको ६ अङ्क छ ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

Share