अर्जुनको शतकका बाबजुद पनि आयरल्याण्ड उल्भ्ससँग ६९ रनले पराजित नेपाल

तस्बिर : क्यान

कैलाली । आयरल्याण्ड उल्भ्स बिरुद्द नेपालका अर्जुन कुमालले शतकीय पारी खेलेपनि नेपाल ‘ए’ ६९ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९.४ ओभरमा सबै गुमाउँदै २ सय १५ रनमै समेटिन पुग्यो ।

नेपालका तर्फबाट अर्जुन कुमालले शतकीय पारी खेले । लक्ष्य पछ्याउने क्रममा १ सय १८ बलको सामना गरेका कुमालले १४ चौकाको मद्दतमा सर्वाधिक १ सय २ रनकाे पारी खेले । तर अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । यस्तै नरेन भट्ट र रुपेश सिंहले १५ तथा देव खनालले ११ रन बनाउँदा सहाब अलाम ६, कप्तान विनोद भण्डारी ४, विकास आग्री तीन रनमा पेभिलियन फर्किए।

नेपाललाई रोक्ने क्रममा आयरल्याण्डका बेन ह्वाइट एक्लैले सर्वाधिक पाँच तथा गेभिन होइले चार विकेट हात पार्न सफल रहे । त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ८४ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो।

आयरल्यान्ड ‘ए’का स्टिफन डोहनीले शतकीय पारी खेले। उनले १ सय २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ७ रनको योगदान दिए। त्यस्तै, पिटर मुरले ४४ रन, म्याथ्यु हम्फ्रेजले २३, मोर्गन टोप्पिङले २१ र फिन ह्यान्डले २० रन जोडे।

बलिङतर्फ नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान समान ३ विकेट लिँदा विकास आग्री र साहब आलमले पनि समान एक विकेट हात पारे ।

यसअघि भएको दुई खेलमा पनि नेपाल ‘ए’ पराजित भएको थियो।

योसँगै आयरल्याण्ड उल्भ्ससँगले टी २० र एकदिवसीय सिरिज आफ्नो कब्जामा पारेको छ ।

Share