उत्तरपुस्तिका हराएका २ विषयको परीक्षा लिँदै त्रिवि

तस्बिर : द हिमालय टाइम्स

कैलाली । त्रिभुवन विश्वविद्यालयले गत वर्षको वैशाख ४ गते स्नातक तह प्रथम वर्षको परीक्षा गर्यो । त्रिविले परीक्षा लिएको एक वर्ष बित्न लाग्दा पनि नतिजा सार्वजनिक भएन । विद्यार्थी नतिजाको पर्खाइमा थिए । अन्ततः त्रिवि पनिकाले २ विषयको उत्तरपुस्तिका हराएका हराएको सूचना सञ्चार माध्यममा छताछुल्ल भयो ।

स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय ( कोड न. ४२२ ) र शिक्षाशास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२ ) को उत्तरपुस्तिका हराएको सूचना बाहिर आयो । तत्पश्चात त्रिविले गल्ती गर्ने पनिकाका त्यस्ता कर्मचारीलाई कारबाही गर्नुको साटो उल्टै यही चैत २१ गते पुनः परीक्षा गराउने निर्णय गरेको छ ।

त्रिविले बारम्बार दोहोर्याई रहने यस्ता गल्तीलाई ठूलो कुरा नमानी सिधै परीक्षा गराई रहेको छ । गत वर्ष पनि झापाको दमक बहुमुखी क्याम्पसका बिबिएस चौथो वर्षका करिब ढाई सय विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । पछि पुनः परीक्षा गराएको थियो । यस पटक पनि त्रिविले परीक्षा गराउने निर्णय गरेको छ ।

त्रिविले बिहीबार एक प्रेस विज्ञप्ति निकाल्दै उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्ले बिहीबार गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न उक्त समिति गठन भएको जनाइएको छ ।

उक्त प्रेस विज्ञप्तिमा सो समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा उल्लेख गरिएको छ ।

जसमा भनिएको छ, ‘उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ ‘उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८० चैत १५ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरिएको छ । उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने बेहोरा अुरोध छ’, भनिएको छ ।

Share