कैलाली । राष्ट्रिय सभा अध्यक्ष पदका लागि भोलि मङ्गलबार चुनाव हुँदै छ । जसमा नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्मा भिड्दै छन् । भोलि हुने निर्वाचनका लागि आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा उनीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
दुई प्यानल राष्ट्रिय सभा अध्यक्ष पदमा होमिएको छ । एक तिर सत्ता गठबन्धन भने अर्को तर्फ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रहेको छ । दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्दै चुनावी मैदानमा होमिएका छन् । प्रमुख प्रतिपक्ष दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्मालाई कांग्रेस सहित लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की रहेका छन् । साथै समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिद छन्।
उता कांग्रेस सांसद शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन् । शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह पनि रहेका छन्।
राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी केन्द्र सबैभन्दा ठूलो दलको हैसियतमा रहेको छ । त्यसै गरी सत्ता गठबन्धनबाट एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।
यस्तै १६ सांसद सहित नेपाली कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहेको छ । कांग्रेसलाई लोसपाका १ जना सांसदको पनि साथ राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा रहने छ ।
यसरी अङ्क गणित हेर्दा सत्ता गठबन्धनका दाहाल निर्वाचित हुने निश्चित जस्तै रहेको छ ।
फागुन २१ भन्दा अगाडि रहेको कांग्रेस माओवादी लगायतका दलको सत्ता समीकरणले नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति गरेको थियो तर माओवादी राष्ट्रिय सभामा ठूलो दल भइसकेपछि माओवादी नेताहरूले अध्यक्ष आफ्नो पार्टीले पाउनु पर्ने अडान राख्दै आएका थिए । तर २१ गते सत्ता समीकरण नै फेरिएपछि सिटौलाको अध्यक्ष बन्ने धोको माथि नै पूर्ण विराम लाग्यो ।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता सहकार्य गरेपछि कांग्रेसका सबै सपना तुहिएका हुन ।












