विश्वकप खेलेको नेदरल्यान्ड्समाथि नेपालको फराकिलो जित

तस्बिर : साजन लामिछाने/ क्यान

कैलाली । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले विश्वकप खेलेको नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ ।

टियु अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जीतमा ओपनर तथा विकेट किपर आसिफ शेख र अलिक कुमार शाहले अविजित अर्धशतकिय पारी खेले । त्यसअघि २८ रनमा पेभिलियनको बाटो फर्किएका कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाए ।

आसिफले ४५ बलमा ८ चौका र १ छक्कासहित अविजित ५४ रन जोडे । यस्तै शाहले ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनमा अविजित रहे । यी दुईले दोस्रो विकेटका लागि अविजित १ सय ५ रनको साझेदारी गरे ।

दोस्रो ओभरमै कुशलले आर्यन दत्तलाई २ छक्का र एक चौका प्रहार गर्दै आक्रामक सुरुवात दिलाए । तेस्रो ओभरमा किंगमाविरुद्ध पनि भुर्तेलले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा कुशल क्याच आउट भए । उनले ११ बलमा २८ रन जोडे ।

आसिफ शेख १९ रनमा रहँदा जीवनदान पाए । किंगमाको बलमा क्रोसले सर्ट फाइन लेगमा क्याच ड्रप गरेका थिए । त्यसपछि अनिल र आसिफले लगातार आक्रामक इनिङ खेल्दै जितसम्म डोर्याए ।

त्यस अघि नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर जम्मा १ सय ३७ रन मात्र जोड्न सक्यो ।

टस जितेपछि फिल्ड गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै नेदरल्यान्ड्सलाई सुरुवातदेखि दबाबमा राखेको थियो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्सले साझेदारी बुन्न संघर्ष गर्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा १ चौका प्रहार गर्दै संयमित इनिङ खेलेका उनी नवौं विकेटको रुपमा कुशल भुर्तेलको एलबीडब्लु धरापमा परे । कुशलले मध्यक्रम ध्वस्त पार्दै कुल ४ विकेट लिए ।

तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई शून्यमा आउट गरे । तेस्रो बलमा लेभिटको प्रहार देव खनालले थर्ड म्यानमा क्याच गरेका थिए ।

छैटौं ओभरमा म्याक्स ओ डाउड रनआउट भएपछि नेदरल्यान्ड्स १८-२ को स्थितिमा पुग्यो । उनले २१ बलमा १ छक्कासहित १० रन जोडे ।

त्यसपछि बास डे लिडे र साइब्रान्ड एंगलब्रेक्टले साझेदारी गर्दै टोलीलाई केहि सम्हाले । ललितले १६ औं ओभरमा एंगलब्रेक्टलाई स्लिपमा क्याच गराएर सफलता दिलाए । उनले ३५ बलमा २३ रन जोडे । २० औं ओभरमा ललितले बासलाई बोल्ड गर्दा नेदरल्यान्ड्स ६७-४ को अवस्थामा पुग्यो ।

२६ औं ओभरमा स्कट एडवार्ड्सको प्रहार कुशल मल्लको हातमा लाग्दै नन स्ट्राइकतर्फ स्टम्पमा लाग्दा नोआ क्रोस रनआउट भए । लगत्तै अर्को ओभरमा कुशल भुर्तेलले वेस्ली बरेसीलाई क्याच आउट गराएपछि नेदरल्यान्ड्स ९९-६ को अवस्थामा पुग्यो ।

लगत्तै अर्को ओभरमा रोहित कुमार पौडेलले आफ्नो पहिलो ओभरमा शरिज अहमदलाई १ रनमा बोल्ड गरे । आर्यन दत्त १० रन जोड्दै कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । ड्रिंक्सलगत्तै ३५ औं ओभरमा स्कट एडवार्ड्स पेभेलियन फर्किए । भुर्तेलले नै किंगमालाई २ रनमा कट बिहाइन्ड गरेपछि नेदरल्यान्ड्स अलआउट भयो ।

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १-१ विकेट लिए । नेदरल्यान्ड्सका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

नेपालले आज दुई खेलाडी परिवर्तन गर्ने क्रममा दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको थियो । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफलाई बाहिर राखेको थियो ।

नेदरल्याण्ड्स सन् २०२३ मा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट खेलको टोली हो । जहाँ उसले विश्वकप मात्रै खेलेन् । इंग्ल्याण्ड जस्ता बलिया टोलीलाई पाखा समेत लगाउँदै इतिहास समेत रचेको थियो ।