कैलाली । मलेसियामा सम्पन्न एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि घरेलु टोली मलेसियालाई दुई सय २१ रनको फराकिलो अन्तरले पाखा लगाउँदै नेपाल च्याम्पियन बनेको छ ।
यो सँगै नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा दुई सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर पाँच बलमा जम्मा ३१ रनमा समेटिन पुग्यो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङ तर्फ नेपालका अभिषेक तिवारीले पाँच विकेट लिए । त्यस्तै सन्तोष यादवले तीन र सागर गैरेले एक विकेट हात पारे ।
त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५२ रन बनाएको विशाल आँकडा तयार गरेको थियो । नेपालका नरेन भट्टले ८९ बलमा अविजित एक सय १२ रनको सानदार शतकीय पारी खेले । उनी यो प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । त्यस्तै, निरज यादवले ४७ रन जोडेको योगदान गरे ।
मलेसियाका मोहम्मद अक्रमले तीन विकेट लिए ।
समूह चरणमा नेपालले थाइल्यान्डलाई दुई सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
जारी प्रतियोगितामा नेपाल एक मात्र अपराजित टोली हो ।
यसअघि नेपालले सन् २०१७ र २०१९ मा १६ वर्षमुनिको उपाधि हात पारेको को थियो ।












